आँखाको दृष्टि पर्दालाई रेटिना भनिन्छ जसमा आउने समस्या नै रेटिनोप्याथी हो। बढ्दो उमेर, उच्च रक्तचाप र मधुमेहले रेटिनामा बिस्तारै असर पुर्‍याउँदै गइरहेको हुन्छ। मधुमेहले आँखाको पर्दामा पार्ने असरलाई डायवेटिक रेटिनोप्याथी भनिन्छ। जसको कारणले दृष्टि धमिलो हुनुका साथै दुष्टि गुम्न पनि सक्दछ।

नेपालमा मधुमेहका रोगीहरुको बढ्ने क्रमसँगै मधुमेहसँग जोडिएको डायबेटिक रेटिनोप्याथी पनि बढेको देखिएको छ। मधुमेह रोग लागेपछि आँखाको जाँच पनि गराउनुपर्छ भन्ने धेरैलाई थाहा छैन। मधुमेहको औषधी मात्र खाएर बसिरहेका छन्, जसका कारण डायबेटिक रेटिनोप्याथी बढेको छ। मधुमेह भएका व्यक्तिमा आँँखाको समस्या दुई गुणाले बढी हुन्छ।

समयमै उपचार नभए अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कनेजस्ता समस्याले आँखाको दृष्टि सधैंका लागि गुम्ने खतरा हुन्छ । टाइप वान मधुमेह भएको २० वर्षमा प्रायः सबैलाई र टाइप टु भएका करिब दुई तिहाइ बिरामीको आँखाको रेटिनामा असर परिसकेको हुन्छ । मधुमेहले आँखामा सुख्खापन आउने, आनो आउने, फुलोपन तथा अन्धोपन ल्याउन सक्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र रोगबारे थाहा हुन सक्छ । तर, त्यतिखेरसम्म उपचार गरे पनि पहिलेकै जस्तो दृष्टि फर्काउन गाह्रो हुन्छ । समयमै उपचार भयो भने अन्धोपनबाट बँच्न सकिन्छ । त्यसकारण मधुमेह भएको थाहा पाएलगत्तै आँखा परीक्षण गरिहाल्नु पर्छ ।